विराटचोकः भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो । तर, एक दिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् । जसमा तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको छ ।
नेपाल र इटलीबीचको पहिलो भेट सन् २००५ को विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो । उक्त भेटमा नेपालले इटलीलाई ८८ रनले पराजित गरेको थियो । यसैगरी, सन् २०१० को विश्वकप लिग डिभिजन ४ मा नेपालले दोस्रोपटक इटलीको सामना गरको थियो । यस खेलमा नेपालले इटलीलाई ५ विकेटले पराजित गरेको थियो । नेपालले पछिल्लोपटक सन् २०१३ मा इटालीको सामना गरेको थियो । यो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।
इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलोपटक टी– २० विश्वकपमा स्थान बनाएको हो । इटाली विश्वकपको डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । तेस्रोपटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको हार ब्यहोरेको थियो ।
अहिले आईसीसी टी– २० वरीयतामा नेपाल १६ औँ तथा इटाली २७ औँ स्थानमा छन् ।







