Thursday, February 12, 2026
Homeशिक्षा र स्वास्थ्ययसरी गरिन्छ निपा भाइरसको नमूना परीक्षण

यसरी गरिन्छ निपा भाइरसको नमूना परीक्षण

काठमाडौंः भारतमा निपा भाइरसको सङ्क्रमण फैलिइरहेको हुनाले नेपालले पनि सतर्कता अपनाउन थालेको छ । नेपालमा सङ्क्रमण भित्रिन नदिन र भित्रिएमा रोकथामका लागि कार्ययोजना बनाउन नेपालले शुरु गरेको हो ।

निपा भाइरसको शङ्कास्पद नमुना सङ्कलन गर्दा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सीएसएफ संकलन गर्नुपर्ने, सङ्कलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २–८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’मार्फत् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने व्यवस्था गरिएको छ ।

महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विस्तृत अनुसन्धानका लागि जानकारी गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । लक्षणसहित मृत्यु भएको वा गम्भीर अवस्थामा पुगेका व्यक्तिलाई सम्भावित निपा केस मानिने पनि निर्देशिकामा उल्लेख छ ।

प्रयोगशालामा नमुना प्रशोधन गरी निपा भाइरसको रियल टाइम पीसीआर परीक्षण गर्नुपर्ने र परीक्षणमा नतिजा सकारात्मक आएमा प्रारम्भिक केसका लागि केन्द्रीय प्रयोगशालामा पुनः पुष्टि परीक्षण गरिने निर्देशिकामा उल्लेख छ । नकारात्मक नतिजा आएमा पिसाबको थप परीक्षण तथा अन्य सम्भावित रोग जस्तैः लेप्टोस्पाइरोसिस, स्क्रब टाइफस र केन्द्रीय स्नायु प्रणालीसम्बन्धी संक्रमणको पनि परीक्षण गरिनेछ ।

‘एनआईभी’ भनिने निपा भाइरसको सङ्क्रमण नयाँ किसिमको रोग हो । यो भाइरस खासगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो सङ्क्रमणलाई सबैभन्दा पहिले मलेसियामा पहिचान गरिएको थियो ।

सङ्क्रमण भएको चारदेखि १४ दिनभित्र निपा भाइरसका लक्षणहरू देखिन थाल्छन् । सुरुमा ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । त्यसपछि बिरामीमा इन्सेफ्लाइटिस अर्थात्, मस्तिष्कको सुजनका लक्षण देखिन सक्छन् । यस्तो गम्भीर अवस्था आएमा बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत अवस्थामा जान सक्छ । साथै, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्छ ।

उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुन सक्ने देखिएको डा. शेरबहादुर पुन बताउँछन् । अहिलेसम्म यस भाइरसविरुद्ध विशेष एन्टिभाइरल औषधि वा खोपको विकास भएको छैन ।

विश्व स्वास्थ्य सङ्गठनले यो भाइरसको सङ्क्रमणको कारण मृत्यु हुने दर ४० देखि ७५ प्रतिशतसम्म पनि हुने गरेको देखाएको छ । भारतमा यो भाइरस सङ्क्रमणको पछिल्लो इतिहास हेर्दा बेला–बेलामा सानो–सानो आउटब्रेकहरू भइरहेको छ । सङ्क्रमितमध्ये अधिकांशको मृत्यु भएको पाइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments