विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आफ्नो कार्यक्षेत्रका १० वटा विद्यालयका ५० जना विद्यार्थीलाई एक दिने औद्योगिक अवलोकन भ्रमण गराएको छ ।
मङ्गलबार संघले ४ वटा सामुदायिक तथा ६ वटा संस्थागत विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई भ्रमण गराएको हो । भ्रमण टोलीमा प्रत्येक विद्यालयका एक जना शिक्षक तथा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
विद्यार्थीलाई शुरुमा बेलबारी नगरपालिकामा रहेको आरजु राइस मिलको भ्रमण गराइएको थियो । सो मिलले चामल तथा ब्रान कसरी उत्पादन गर्छ भन्ने बारेमा विद्यार्थीले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान लिएका थिए । मिलले किसानको हितमा कसरी काम गर्छ भन्ने बारेमा जानकारी गराउनुका साथै विद्यार्थीलाई धान रोपाइँदेखि चामल उत्पादन र बजारीकरणको प्रक्रियाको बारेमा विद्यार्थीलाई जानकारी दिएको थियो ।
विद्यार्थीको टोलीले सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा रहेको गोरस डेरी प्रालि र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको जय श्रीराम इण्डस्ट्रिजको पनि अवलोकन गर्नुका साथै ती उद्योगको उत्पादन र समुदायमा उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका कामको बारेमा जानकारी लिएका थिए ।
गोरस डेरी प्रालिले दूधबाट बन्ने परिकारका बारेमा जानकारी दिनुका साथै दूधबाट ती परिकार कसरी बन्छन् भन्ने बारेमा प्रत्यक्ष अवलोकन गराई जानकारी दिएको थियो ।
जय श्रीराम इण्डस्ट्रिजमा कार्यरत इञ्जिनियरले सो उद्योगबाट कसरी आधुनिक तरिकाले घर, भवन, पुल तथा अन्य निर्माणका कामको ढलानका लागि आवश्यक पर्ने वस्तु उत्पादन गरिन्छ भन्ने बारेमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो ।
विद्यार्थीलाई किताबी ज्ञानका साथै उद्योग व्यवसायसँग सम्बन्धित जानकारी दिन उद्योग वाणिज्य संघले अवलोकन भ्रमणको कार्यक्रम तय गरेको संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । जेनजी आन्दोलनपछि उद्योगी व्यवसायीमा निराशा छाएको तथा विद्यार्थीमा उच्च अध्ययनका लागि विदेश जाने परिपाटी रहिरहेको अवस्थामा विद्यार्थीमा व्यावसायिक चेत जगाउन अवलोकन भ्रमणको आयोजना गरिएको कार्कीले बताउनुभयो ।







