विराटचोकः बीमा सेवामा हुलाक टिकट टाँस्ने नियम हटाइएको छ । नेपाल बीमा प्राधिकरणले बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन हटाएको हो ।
प्राधिकरणले सबै प्रकारणका बीमा कम्पनी, ब्रोकर (दलाल) र मध्यस्थकर्ताको नाममा परिपत्र जारी गर्दै बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
गत मंसिर २९ गते मन्त्रिपरिषदबाट प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको थियो । मन्त्रिपरिषदको सोही निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमकहरूलाई सोमबार एक सूचना जारी गर्दै आग्रह गरेको हो ।







