बेलटारः खोटाङको दक्षिणी क्षेत्र र उदयपुरको उत्तरी क्षेत्र जोड्ने सुनकोशीस्थित बंसिलाघाटमा बेलिब्रिज जडान गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर ५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसी नदीमा हिजोदेखि बेलिब्रिज सञ्चालनमा आएको हो ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५१ दशमलव ८१ मिटर लामो र ४ दशमलव १ मिटर चौडाइ भएको बेलिब्रिज जडान गरेको हो । नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा सो बेलिब्रिज झिकिने बताइएको छ ।
गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले ५७ लाख रुपैयाँ लागतमा पुल जडान गरेको हो । कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको पहलमा पुल निर्माण भएको बताइएको छ ।
बेलिब्रिज जडान भएपछि खोटाङ र भोजपुरका दक्षिणी पालिकाका नागरिकका लागि उदयपुरको बेलटार हुँदै तराइतर्फ आवागमन गर्न सहज हुनेछ ।
खोटाङको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाका नागरिकका लागि आवतजावतमा सो पुलले सहज बनाउनेछ ।
खोटाङ र उदयपुर जोड्ने यो दोस्रो बेलिब्रिज हो । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पनि गत पुस २७ गतेदेखि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।







