इटहरीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव ‘हिसान स्पोर्टस् मिट’ आजदेखि शुरु हुने भएको छ ।
इटहरीमा आयोजित पत्रकार सम्मेलनमा संघले १२ औँ संस्करणको स्पोट्र्स मिट माघ १५ देखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । सो स्पोट्र्स मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्टहरूमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
विगत तीन वर्षदेखि आयोजना हुँदै आएको ‘हिसान इटहरी रन’ यस पटक व्यवस्थापनका कारण स्थगित गरिएको कार्यक्रम संयोजक सुभाष लुइँटेलले जानकारी दिनुभयो ।
स्पोर्टस् मिट अन्तर्गत तालतलैयास्थित बुढासुब्बा खेलमैदान र इटहरी रङ्गशालामा फुटबल प्रतियोगिता हुने भएको छ । इटहरी–९ स्थित जनता क्रिकेट मैदानमा क्रिकेट, पूर्वाञ्चल माध्यमिक विद्यालय तरहरामा भलिबल हुने भएको छ । लर्डबुद्ध स्कुल रामधुनीमा बास्केटबल तथा इटहरी रङ्गशालामा एथलेटिक्सका प्रतियोगिता हुने भएका छन् ।







