विराटचोकः शुभम् पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको शेयरको ‘लक–इन’ अवधि आज माघ २६ गते सकिने भएको छ ।
कम्पनीका अनुसार १४ लाख ३१ हजार ३० कित्ता शेयरको लक–इन अवधि सकिने भएको हो । लक–इन अवधि समाप्त भएपछि ती शेयरहरू दोस्रो बजार कारोबारका लागि योग्य हुनेछन् ।
लक इन सकिने शेयरहरूमध्ये संस्थापक समूहको १४ लाख कित्ता रहेको छ । त्यसैगरी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको १९ हजार ४२० कित्ता र कर्मचारीहरूका लागि सुरक्षित ११ हजार ६१० कित्ता शेयर रहेको छ ।
कम्पनीका सञ्चालकहरू र उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने यो व्यवस्था लागू हुने छैन । प्रचलित कानुनी प्रावधान र नियमानुसार उनीहरूको शेयर भने तत्कालका लागि रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीहरूले आईपीओ निष्कासन गर्दा संस्थापक, स्थानीय र कर्मचारीहरूका लागि छुट्याएको शेयर तीन वर्ष बिक्री गर्न पाइँदैन ।







