विराटनगरः कोसी कला साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा मोरङको बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको लघुकथा सङ्ग्रह ‘बकसपत्र’ र विराटनगरका स्रष्टा रोहिणी रसिकको कविता सङ्ग्रह ‘छन्द आराधना’ माथि विमर्श भएको छ ।
छन्द वाटिका नेपाल, विराटनगर सहआयोजक रहेको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भण्डारीको कृतिमाथि निरज कोइराला र केशु विरहीले विमर्श गर्नुभएको थियो । रसिकको कृतिमाथि डा. दीपकप्रसाद न्यौपाने र बाबुराम पोखरेलले समीक्षा गर्नुभएको थियो
विमर्शक विरहीले जीवनी, व्यक्तित्व र कृतित्वबिचको अन्तरसम्बन्धका बारेमा समीक्षा प्रस्तुत गर्दै कथाकार भण्डारी साहित्यका अतिरिक्त समाजसेवामा पनि उत्तिकै सक्रिय रहेको बताउनुभयो ।
विमर्शक कोइरालाले लघुकथाको सिद्धान्तका बारेमा उल्लेख गर्दै ‘बकसपत्र’ भित्रका रचनाको चिरफार गर्दै केही कथामा परिवेश दोष रहे पनि सबै कथाहरू निकै उत्कृष्ट रहेको बताउनुभयो ।
विमर्शक बाबुराम पोखरेलले जीवनी, व्यक्तित्व र कृतित्वमाथि बोल्दै रसिकको रगतले साहित्यको विरासत बोकेको बताउनुभएको थियो ।
विमर्शक डा. दीपकप्रसाद न्यौपानेले रसिकको कविता कृति ‘छन्द आराधना’ को विहङ्गम समीक्षा गर्दै छन्द साधना गर्दा वा छन्द मिलाउने नाममा नेपाली भाषाको मानक व्याकरणलाई तोड्न नहुने बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पोखरेलले कोसी साहित्य–कला परिषद् नेपालले सुरु गरेको अभियानसँग आफू जानकार रहेको बताउँदै यस अभियानमा सबैको साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेलले परिषद्ले विभिन्न स्थानमा पुगेर साहित्यिक कार्यक्रम गर्ने अभियान अनुकरणीय रहेको बताउँदै सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
सर्जकद्वय भण्डारी र रसिकले पनि आयोजक संस्था तथा समीक्षकहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा श्रीप्रसाद पोखरेल, मञ्जुश्री गिरी, शारदा भट्टराई, निर्मला नेपालले विमर्श गरिएका कृतिभित्रका दुई दुईओटा रचना वाचन गर्नुभएको थियो ।
परिषद्को साहित्य विभागकी सहसंयोजक शारदा दाहाल भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ र कोषाध्यक्ष चिरञ्जीवी काफ्लेले गर्नुभएको थियो ।
कार्यक्रममा मोरङ, सुनसरी तथा झापाका विभिन्न स्थानका स्रष्टा\ कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।







