विराटचोकः इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा आयोजनाको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो । सभामा उपभोक्ताहरू, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा आयोजनाले हालसम्म ९ हजारभन्दा बढी धारा जडानमार्फत् ४० हजारभन्दा बढी नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउँदै आएको जानकारी गराइएको छ ।
साधारणसभामा नगर विकास कोष, क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय इटहरी, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सल्लाहकार, प्राविधिक सल्लाहकार, जग्गादातालगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाले समितिका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रगति विवरण तथा भावी कार्ययोजना पारित, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा बजेट, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।







