विराटचोकः २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा दलले समानुपातिक सूचीमा उम्मेद्वारी दिएका छन् । समानुपातिकतर्फ ११० सिटका लागि दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेद्वारको नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।
आयोगका अनुसार ५४ वटा दल आआफ्नो चुनाव चिह्नमा र १० वटा दल ४ वटा चुनाव चिह्नमा चुनाव लड्दैछन् । यसरी समानुपातिकतर्फको मतपत्रमा जम्मा निर्वाचन चिह्न ५८ वटा रहनेछन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने दलहरूमध्ये १८ वटाले आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेद्वारी दिएका छन् । ८ वटा दलले फरकफरक तीन वटा चुनाव चिह्नमा संयुक्त रूपमा ११० सिटमै उम्मेद्वारी दिएका छन् ।
बाँकी ३८ वटा राजनीतिक दलले भने कम सिटमा उम्मेद्वारी दिएका छन् ।
समानुपातिक सूचीमा ७ वटा क्लस्टर छन् । आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेद्वार चयन गर्दा कम्तीमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेद्वार चयन गर्नुपर्छ ।
आदिवासी जनजातिमा २८.७२ प्रतिशत उम्मेद्वार चयन गर्नुपर्नेछ । खस आर्यमा ३०.२८ प्रतिशत, थारुमा ६.५२, दलितमा १३.४४ प्रतिशत उम्मेद्वार छान्नुपर्छ । मधेसीमा १६.१५, मुस्लिममा ४.८९ र पिछडिएको क्षेत्रबाट कम्तीमा ४.०२ प्रतिशत उम्मेद्वार छान्नुपर्ने हुन्छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी), संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, मितेरी पार्टी नेपाल, नेपाली जनता दल र नेपाल कम्युनस्ट पार्टी (संयुक्त) ले एकल ११० सिटमै उम्मेद्वारी दिएका छन् ।
११० सिटमा उम्मेद्वारी दिने बाँकी ८ वटा दलले भने तीन फरक चुनाव चिह्नमा संयुक्त उम्मेदवारी दिएका छन् ।
मोबाइल एकल चिह्नमा आम जनता पार्टी र जनादेश पार्टीले संयुक्त नामावली बुझाएका छन् । चुनाव चिह्न बसमा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले उम्मेद्वारी दिएका छन् ।
जाँतो (चकिया) एकल चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले उम्मेद्वारी दिएका छन् ।
समानुपातिकमा उम्मेद्वारी दर्ताका लागि कम्तीमा ११ जनाको नामावली दिनैपर्ने बाध्यता अनुसार ११ जनाको मात्रै नाम दिने दलको संख्या ६ वटा छ । गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टी, स्वाभिमान पार्टी, जनअधिकार पार्टी, नेपाली कांग्रेस (बीपी) र नेपाली जनश्रमदान संस्कृति पार्टीले ११ सिटमा मात्रै उम्मेद्वारी दिएका छन् ।
समानुपातिकतर्फ १२ सिटमा उम्मेद्वारी दिने दलको संख्या ५ वटा छ । जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले १२ जनामात्रै उम्मेद्वार खडा गरेका छन् ।
नेपाल जनता संरक्षण पार्टीले १७ र पिपुल फस्ट पार्टीले १८ जनाको नाम दर्ता गराएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल मातृभूमि पार्टी र बहुजन शक्ति पार्टीले २०–२० जनाको नाम बुझाएको छ ।
उन्नत लोकतन्त्र पार्टीले २२, त्रिमूल नेपालले २३ जनाको नाम बुझाएको छ ।
नागरिक शक्ति नेपाल, जनता लोकतान्त्रिक पार्टी नेपाल र राष्ट्रिय गौरव पार्टीले २५ जनाको दरले उम्मेद्वारी दिएका छन् ।
नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले एकल चिह्न जकर भएको सिंहमा समानुपातिकतर्फ २५ जना उम्मेद्वार खडा गरेका छन् ।
राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २७, सार्वभौम नागरिक पार्टीले २८, नेसनल रिपब्लिक नेपालले २९, समावेशी समाजवादी पार्टीले ३१, समावेशी समाजवादी पार्टीले ३२, राष्ट्र निर्माण पार्टी नेपालले ३५, प्रजातान्त्रिक पार्टी नेपालले ४१, नेपालको लागि नेपाली पार्टीले ४३, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ४६ र राष्ट्रिय परिवर्तन पार्टीले ४९ जना उम्मेद्वार खडा गरेका छन् ।
जय मातृभूमि पार्टीले ५५, नेपाल जनता पार्टीले ६०, संयुक्त नागरिक पार्टीले ६१ र जनता समाजवादी पार्टी नेपालले १०१ जना उम्मेद्वार खडा गरेका छन् ।







