लेटाङः सामाजिक उत्तरदायित्वअन्तर्गत लेटाङ एड्भान्स हस्पिटलले चौथो वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।
लेटाङ– ४ स्थित हस्पिटल परिसरमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ९२ जनाले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए । शिविरमा एक्स–रे, ल्याब परीक्षण, आँखा जाँच, हाडजोर्नी, बालरोग तथा सुगर–प्रेसर सम्बन्धी सेवा प्रदान गरिएको थियो ।
आयोजकका अनुसार सेवा लिनेहरूमध्ये एक्स–रे सेवा ५३ जना, ल्याब १ सय ३ जना, आँखा जाँचसेवा ९७ जनाले लिएका थिए । हाडजोर्नीका ६३ जना, बालरोग २२ जना तथा सुगर–प्रेसर परीक्षण सेवा लिने १ सय १० जना रहेका थिए ।
वार्षिकोत्सवमै अवसरमा हस्पिटलले १० जना ज्येष्ठ नागरिकलाई विशेष सम्मान गर्दै एक वर्षसम्म आवश्यक पर्दा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।
हस्पिटलका सञ्चालक ईश्वर शाक्यले सामाजिक उत्तरदायित्वलाई संस्थागत अभ्यासका रूपमा अघि बढाउँदै निःशुल्क स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
वार्षिकोत्सव समारोहमा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ– ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।







