विराटचोकः नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । सो प्रतियोगितामा १० देशको सहभागिता रहने आयोजकले जनाएको छ ।
सार्वजनिक खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एशिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् ।
जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने सो प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, आयरल्याण्ड, अमेरिका तथा पपुवा न्यूगिनी छन् । प्रतियोगिताको खेल मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।
उद्घाटन खेल नेपाल र थाइल्याण्डबीच जनवरी १८ तारिखमा हुने भएको छ । उक्त खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने भएको छ ।
सो प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा छनोट हुनेछन् । सुपर सिक्सबाट शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।







