लेटाङः मोरङको लेटाङ नगरपालिकाले आयोजना गर्ने लेटाङ रनको तेस्रो संस्करणको प्रतियोगित माघ १ गते हुने भएको छ ।
आयोजक लेटाङ रनका अनुसार तेस्रो संस्करणमा ८ सय धावकको सहभागिता हुने अनुमान गरिएको छ । लेटाङ रनका अध्यक्ष किरण राईले यस वर्षको लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष ४ वटा विधामा महिला र पुरुषतर्फ गरि ८ वटा प्रतिस्पर्धा सञ्चालन गरिने भएको छ । सबैभन्दा ठूलो पुरस्कार राशीको खुला पुरुष तथा महिलातर्फको १० किलोमिटरको म्याराथन प्रतियोगिता सञ्चालन हुने भएको छ । जसमा देश विदेशका खेलाडीहरुले खुला रुपमा सहभागिता जनाउने पाउनेछन् । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले मेडलसहित ३० हजार, दोस्रोले १५ हजार, तेस्रो हुनेले ८ हजार र सान्त्वना २ जनाले एकएक हजार नगद पुरस्कार पाउनेछन् ।
लेटाङ नगरपालिकाभित्रका धावक मात्र सहभागी हुन पाउने ‘हाम्रो लेटाङ’ विधामा पनि महिला र पुरुष दुवैतर्फका प्रतिस्पर्धा हुने भएका छन् । सो प्रतियोगितामा पहिलो हुनेले मेडलसहति ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार र सान्त्वना स्थान प्राप्त गर्ने २ जनाले एकएक हजार नगद पुरस्कार पाउने छन् ।
भेट्रान महिला र पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले मेडलसहित १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ४ हजार नगद पुरस्कार पाउने छन् ।
कक्षा ८ भन्दा तल अध्ययनरत विद्यार्थीहरुको महिला र पुरुष दुवै तर्फको प्रतिस्पर्धामा प्रथम हुनेले मेडलसहित ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
रन पूरा गर्ने सबै धावकलाई मायाको चिनो प्रदान गरिने भएको छ । खुला महिला र पुरुष, हाम्रो लेटाङ महिला र पुरुष, भेट्रान महिला र पुरुष विधामा प्रतिस्पर्धा गर्ने धावकका लागि ४ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । कक्षा ८ भन्दा तलको प्रतिस्पर्धीका लागि ३ सय ५० रुपैयाँ दर्ता शुल्क लाग्ने जनाइएको छ ।
माघ १ गते बिहान ८ बजे लेटाङ बजारको बीपी चोकबाट शुरु भई निर्धारित स्थान हुँदै बीपी चोकमा आइपुगेर रन सम्पन्न हुने बताइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न लेटाङ नगरपालिका, वडा कार्यालय, सामुदायिक वन, बेलायतमा बसोबास गर्ने लेटाङबासी सन्तोष राई लागयत विभिन्न संस्था र व्यक्तिहरुले सहयोग गर्ने भएका छन् । करिव ९ लाख रुपैयाँ लागतमा प्रतियोगिता सम्पन्न हुने बताइएको छ ।
युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध दुव्र्यसनको कुलतमा लाग्नबाट टाढै राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लेटाङ रनका सदस्य तथा कमलपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
लेटाङ रनकी सचिव मनकुमारी राईका अनुसार यस वर्ष महिला र पुरुष दुवैतर्फको पुरस्कार राशी समान राखिएकाले महिला धावकहरुले पनि उत्साहपूर्वक सहभागिता जनाउने अनुमान आयोजकले गरेको छ ।







