सुन्दरहरैंचाः गीतकार डि.पी. खनालको स्वास्थ्य उपचारको सहयोगार्थ सुन्दरहरैंचामा भोलि मङ्गलबार पलेँटी साँझ आयोजना हुने भएको छ ।
विराटचोकस्थित प्लानेट लाउञ्जमा हुने ४१ औँ पलेँटी साँझलाई यसपटक ‘गीताञ्जली साँझ’ नाम दिइएको आयोजक संस्था नझरेका फूलहरूका परिकल्पनाकार केपी घिमिरेले बताए ।
२ महिना अघिदेखि स्वास्थ्यमा गम्भीर समस्या भई उपचाररत गीतकार खनालका सयौँ गीतहरू लोकप्रिय छन् । उनका रचनामा रहेका गीतहरू नेपाली साङ्गीतिक क्षेत्रका ख्यातिप्राप्त लगभग सबै गायकले गाएका छन् । गीतकार खनालको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको र यस अभियानमा थुप्रै मनकारी व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको समेत घिमिरेले बताए ।
गीतकार खनालको उपचारको सहयोगार्थ यस कार्यक्रमका निम्ति रामकृष्ण ढकाल, गायक हेमन्त शर्मा, राज सिग्देल, तुलसी पराजुली, प्रविशा अधिकारी, गीतकार किरण के उप्रेती, गायक निमा शेर्पा, साहित्यकार पुरन राई लगायतबाट आर्थिक सहयोग प्राप्त भएको र थप महानुभावबाट पनि सहयोग आउने क्रम जारी रहेको गीतकार समेत रहेका घिमिरेले जनाए ।
गीताञ्जली साँझमा गायिका पम्फा चाहार, मेरिना राई, अनु बुढाथोकी गिरी, निशा कार्की तथा गायक दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ लगायतले झण्डै दुई दर्जन भन्दा बढी गीतहरू गाउने बताइएको छ ।
साँझ साढे ६ बजे शुरु हुने कार्यक्रममा सहभागिताका निम्ति निःशुल्क प्रवेशको व्यवस्था गरिएको घिमिरेले बताए ।