विराटनगरः त्रिवि खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा ३ विकेटले विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले प्रियांक पान्चलको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो । ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाएका थिए ।
उनको यस सिजन यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे ।
गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए ।
कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरको जीतमा बसिर नायक बने । उनले ४३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६२ रन जोडे ।
२० औं ओभरको पाँचौ बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै उनले विराटनगरको जीत पक्का गरेका थिए । बसिरले छैटौं विकेटका लागि नारायण जोशीसँग महत्वपूर्ण ६९ रनको साझेदारी गरेका थिए । नारायणले १६ बमला २ चौका र १ छक्का प्रहार गर्दै २५ रन योगदान गरे ।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुई÷दुई विकेट लिए ।
विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक÷एक विकेट लिएका थिए ।







