काठमाडौंः काठमान्डु गोर्खाजले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भएपछि ५३ रनले काठमाण्डु गोर्खाज विजयी भएको छ ।
त्रिवि खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दा पाँच खेल खेलिसकेको काठमान्डुको यो तेस्रो जीत हो । विराटनगर किंग्ससँग काठमाण्डु गोर्खाजको समान अङ्क भए पनि रनरेटमा विराटनगर अघि छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।
काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तर, सिम्पसन १७ औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् ।
१५ ओभरमा १०९\३ को अवस्थामा रहेको काठमाडौंले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो । चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमान्डु अलआउट भएको थियो ।
चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले दुई\दुई तथा रवि बोपाराले एक विकेट लिए ।
आजको खेलमा चितवनका लागि देव खनाल र रबि बोपाराले समान २१ रन बनाए भने सोहे तनविरले १८ रन जोडे । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
काठमाडौंका लागि रासिद खानले १.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान दुईदुई विकेट लिए । करण र मिलिन्दको विकेट सङ्ख्या ९ पुगेको छ । यी दुई खेलाडीसँगै विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूर पश्चिमका हर्मित सिंहले पनि समान ९ विकेट लिएका छन् ।
आजको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिष्पर्धा भइरहेको छ ।







