विराटचोकः राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर मोरङको सुन्दरहरैँचामा अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता भएको छ ।
मोरङ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, सुन्दरहरैँचा, मोरङले मकरधन सामुदायिक भवनमा ‘पुस्तकालय’ शीर्षकमा कविता प्रतियोगिताको आयोजना गरेको थियो ।
१६ जना प्रतियोगी रहेको सो प्रतियोगितामा साजीलाल माविका छात्र बालकृष्ण दाहाल पहिलो हुनुभएको छ । जनता माविका छात्रा सदीक्षा पाण्डे दोस्रो र श्रीखण्ड माविकी छात्रा तनिसा उराउले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो ।
विजेतलाई क्रमशः नगद रु ५ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र तथा उपयोगी साहित्यिक पुस्तकसमेत प्रदान गरिएको थियो । प्रतियोगिताका सबै प्रतियोगीलाई प्रमाणपत्र तथा साहित्यिक कृति उपहार प्रदान गरिएको थियो ।
प्रतियोगितामा छन्दवाटिका नेपालका सचिव चिरञ्जीवी काफ्ले, कविद्वय सिजन श्रेष्ठ र वासुदेव अधिकारी निर्णायकका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा संस्थाकी सदस्य शशी पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । मोरङ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष हिमाली विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जीवनप्रसाद भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं रहनुभएको थियो । मोरङ जिल्लाका पूर्व जिल्ला समन्वय समिति सदस्य विश्वेश्वरप्रसाद ढकाल, कोशी साहित्य कला परिषद् नेपालका अध्यक्ष केशु विरही, महेन्द्र माविका प्रधानाध्यापक लोकबन्धु थापा, ओरिजिन इङ्लिस स्कुलका प्रिन्सिपल रामचन्द्र श्रेष्ठ, प्रणाम टोल विकास संस्थाका अध्यक्ष टीकाप्रसाद सुवेदीलगायतका विशिष्ट व्यक्तित्वहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।







