विराटचोकः सुन्दरहरैंचामा रहेका दुई प्रतिष्ठित संस्थाबीच शिक्षा क्षेत्रमा नयाँ साझेदारी भएको छ । शैक्षिक संस्था ब्राइट फ्युचर स्कुल र हस्पिटालिटी क्षेत्रको संस्था नेपालिरिका होटलबीच भएको महत्वपूर्ण सम्झौतालाई दुवै संस्थाले ऐतिहासिक साझेदारी भनेका छन् ।
ब्राइट फ्युचर माध्यमिक विद्यालय (पीएलओ समूह अन्तर्गत) र नेपालिरिका होटलबीच आज सहकार्यसम्बन्धी सम्झौता भएको हो । सो सम्झौताको उद्देश्य प्लस टु तहमा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक तालिम, प्रत्यक्ष अनुभव र रोजगारीको अवसर प्रदान गर्नु रहेको बताइएको छ ।
आज भएको सो सम्झौताअनुसार अब ब्राइट फ्युचरमा कक्षा ११ र १२ मा अध्ययनरत प्रत्येक विद्यार्थीले हरेक वर्ष एक महिना नेपालिरिका होटलमा अनिवार्य इन्टर्नसिप गर्न पाउनेछन् । त्यस्तै, हरेक १५ दिनमा विद्यार्थीहरू होटलमा प्रत्यक्ष रूपमा विभागीय सिकाइ र तालिममा सहभागी हुनेछन् ।
त्यस्तै, प्रत्येक वर्ष १० जना योग्य विद्यार्थीहरूलाई नेपालिरिका होटलमा रोजगारीको अवसर प्रदान गरिने नेपालिरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले बताउनुभयो ।
शिक्षा र उद्योगबीचको दूरी घटाउन यो कदम चालेको बताउँदै प्रबन्ध निर्देशक दुलालले विद्यार्थीहरूले कक्षाभित्र अध्ययन गर्ने मात्र होइन, प्रत्यक्ष रुपमा होटल क्षेत्रमा काम गरेर सिक्न पाउने बताउनुभयो । उहाँले विद्यार्थीहरूका लागि उपलब्ध अवसरहरूबारे जानकारी गराउनुभएको थियो ।
ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक टीका ढकालले यस कार्यक्रमले विद्यार्थीहरूको करियर निर्माणमा ठूलो मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा शिक्षाविद्, अभिभावक, व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।







