विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले ‘१४ औं प्याब्सन स्पोर्टस् मीट’ शुक्रबादेखि हुने भएको छ ।
माघ १८ देखि २० गतेसम्म हुने स्पोर्टस् मीटको बारेमा विराटनगरमा मंगलबार प्याब्सन मोरङले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियालाई बढी मात्रामा महत्व दिइने र खेलकुद पनि मानव जीवनको एक अभिन्न पाटो बन्ने भएकाले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका साथै वैचारिक सन्तुलन तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वासका साथ खेलकुद प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।
प्याब्सन मोरङ सचिव देवी सिटौलाका अनुसार प्याब्सनसँग आबद्ध २ सय १० वटा विद्यालयका ३ हजार बढी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिनेछन् । कक्षा १२ सम्मका विद्यार्थीहरूले एथलेटिक्स, फुटबल, भलिबल, टेबलटेनिस, बस्केटबल लगायत २५ भन्दा बढी विधाका खेलहरूमा सहभागिता जनाउने प्रतियोगिताका विजेता तथा उपविजेताले मेडल तथा ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिता सञ्चालनका लागि १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।