विराटचोकः आज तुलसीको विवाह गरेर घरघरमा हिन्दू नरनारी व्रत बस्ने गर्छन् । यस्तो छ हरिबोधिनी एकादशी र तुलसीको महत्वको कथाः
स्कन्द पुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उनको अमरत्वको आधार थियो । सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो । त्यसपछि मात्र जालन्धरको वध गर्न सम्भव भएको थियो । विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले विष्णुलाई श्राप दिइन् ।
त्यसपछि विष्णु पत्थरमा परिणत भई शालिग्रामका रूपमा अवतीर्ण भए । यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन विष्णुले शालिग्राम स्वरूपमा रहेर तुलसीसँग विवाह गर्नुपरेको थियो । जुन दम्पत्तिको छोरी छैनन् उनीहरूले जीवनमा एकपल्ट हरिशयनी एकादशीमा आफ्नो घरआँगनमा तुलसीको मठ बनाई तुलसी रोपी, चार महिनासम्म नित्य पूजाअर्चना गरी कात्तिक महिनाको हरिबोधिनी एकादशीमा विधिवत् विवाह गरिदिएमा कन्यादानको पुण्य प्राप्त हुन्छ र सुपुत्री लाभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
आषाढ शुक्लको हरिशयनी र कात्तिक शुक्लको हरिबोधिनी एकादशीमा नेपालका विभिन्न तीर्थस्थल, देवालय र मठमन्दिरमा मेला लाग्ने गर्दछ । त्यस्तै सानाठूला नदीनाला तालपोखरी र सरोवरमा स्नान गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीका दिनबाट शुरु गरी चार महिनासम्म चोखोनीतो भई, एक छाकमात्र खाई, चतुर्मास व्रत बस्ने चलन पनि छ । चतुर्मासको अवधिभरि ठाउँठाउँमा व्रतकथा महात्म्य र पुराणहरूको कथा श्रवण गर्ने व्यवस्थापन समेत हुने गर्दछ । कतिपय धार्मिक व्यक्तित्वहरूले आआफ्ना घरैमा कथा सुन्ने सुनाउने व्यवस्था समेत गरेका हुन्छन् । ठूलाठूला विद्वान्, सन्त, महन्त, योगी र सन्न्यासीहरू यस अवधिमा सम्भव भएसम्म एकै ठाउँमा बस्ने गर्दछन् र आध्यात्मिक उपदेश प्रदान गर्ने गर्दछन् ।
चतुर्मासमा वृन्दावन, बाबाधाम, बद्रीनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, दूधकुण्ड आदि तीर्थको तीर्थाटन गर्ने परम्परा पनि छ । समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले चतुर्मास अवधिको ठूलो महत्व छ ।