शंकर सुवेदी, ‘उत्स’
चुड्का र ख्यालीका भाकाहरु
मंगल धुन बजाएर रोदीघरमा
गञ्जन्छन् मारुनीका जुहारी
हिमाल अलिकति घुम्टो उघारेर
आकाशको छहारीमुनि
चियाउँछन् जुनेलीमा
दशैंघरका जमराहरु ।
मालश्रीको राग
करेसाका गोदावरीहरुमा
बिसाउँछन् भमराहरु…,
च्याबु्रङ उरालेर उराहा लाउँदै
आरतीका तान,
दशैंघरका ताँतीहरुमा आराध्य देवीहरु नियालेर
म दशैं भाक्दैछु पटाङ्गिनी झैँ खाली निधार ।
थापिएका आशीर्वादका पर्राहरु
अझै थाँती राखेर
निशानथानको भाकल बुझाउँदा
गलाबाटै रोकेर आरतीका मूच्र्छना
दशैं…, म तिम्रो स्वरलाई पर्खिबसेको छु ।
आशा रसाएर पखाईहरुमा
तिम्रो अधरबाट छरिएर
अनुहारभरि फुल्ने हाँसो पर्खेको छु ।
आँखामा अटाएको आकृति कुरेर
उक्लँदै समयका कान्लाहरु,
अलिकति खुशी दुःख बिसाउन,
अलिकति माया घृणा मिल्काउन,
अलिकति हाँसो आँसु लुकाउन
तिम्रो लागि यो दशैं कुर्दै बसेको छु ।
पुजिने निधार छामेर लोलाउँछन् हात
छातीभित्र कुञ्जोले कुँदेर
फुल्छन् टीका जमरा,
हातको पाली लाएर हेर्दाहेर्दै बाटो
साँझ ढलुञ्जेल यो दशैं
आनन्दानुभूतिको लहर
म तिम्रो लागि सम्झिबसेको छु ।
निधारभरि टीका पहिरिएर
थानीबाट थापेर आशीर्वाद
कानमाथि सिउरिएका जमरा सजाउँदै
आराधना र घाटुको तालमा झुलाएर मन,
तिम्रो झल्को
दशैं….! पर्खिबसेको छु ।