काठमाडौंः सञ्चारकर्मका साथै लामो समयदेखि नेपाली लोकदोहोरी गायन, र अनुसन्धानमा सक्रिय रामप्रसाद पाठकले लोकदोहोरी गीत ‘परदेशीको कथा…’ बजारमा ल्याएका छन् ।
आफ्नो जन्मभूमि छोडेर परदेश जाँदा अनेक दुःखकष्ट भोग्नुपरेको, काम गरे पनि तलब नपाएको चाडबाडको बेला सबै आफ्नो गाउँघर गए पनि बिदा नपाएको लगायतका विषयवस्तु गीतमा समेटिएको छ ।
परदेशीको पीडाको कथा नेपालमा रहेकी पत्नीलाई गीतका माध्यमबाट उनले सुनाएका छन् । गायक पाठकको लय तथा शब्दमा तयार भएको यो गीतमा पाठक र रोशनी रोकायाको स्वर रहेको छ । कृष्ण पुनको सङ्गीत संयोजनमा तयार भएको यो गीत म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
रेकर्ड तथा मिक्सिङ बिजय बुढाको रहेको छ । गीतमा गायक पाठक र गायिका रोकायाको अभिनय रहेको छ । क्यामेरा सम्पादन मनबहादुर पुनले गरेका छन् । गायक पाठकको युट्युब च्यानल नमुना नेपाल डट कम मार्फत् गीत सार्वजनिक गरिएको हो ।