विराटचोकः २०८३ साल जेठ ९ गतेभित्र सुन्दरहरैंचा नगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिने भएको छ । नगरलाई बालमैत्री पालिका बनाउन प्रतिबद्धता जनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
आइतबार नगर बाल सञ्जाल सुन्दरहरैंचाको समन्वय तथा सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा इन्द्रपुर जेसीज भवनमा भएको बाल मैत्री स्थानीय शासन अभिमुखीकरण तथा विविध बाल प्रस्तुति प्रदर्शनी भएको थियो । कार्यक्रम आज सोमबार समापन हुनेछ ।
प्रतिबद्धता पत्रमा नगर प्रमुखका साथै उपप्रमुख अकली चौधरी, सामाजिक शाखा प्रमुख शान्ता घिमिरे, नगर प्रवक्ता रोशनप्रसाद ढकाल, नेकपा एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृकाप्रसाद ढकाल, नेपाली कांग्रेस सुन्दरहरैंचाका सचिव होमनाथ पोखरेल, नगर बाल सञ्जालका प्रतिनिधि, कार्यपालिका सदस्यहरु, सञ्चारकर्मीहरुलगायतले हस्ताक्षर गरी प्रतिबद्धता जनाउनुभएको थियो ।
बालमैत्री स्थानीय शासनमा ५१ सूचक रहेका छन् । ती सूचक पूरा गरेपछि नगरलाई बालमैत्री नगर घोषणा गरिने राष्ट्रिय बाल अधिकार परिषद स्रोत व्यक्ति स्वस्तिका पोख्रेलले जानकारी दिनुभयो । बाल बचाउका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ सूचक रहेको उहाँले जनाउनुभयो ।
आज समापन हुने कार्यक्रममा बालबालिकाले कला प्रदर्शनी गर्ने भएका छन् । बालगायकको रुपमा ख्याति कमाएका प्रीतम आचार्यले पनि आफ्नो प्रस्तुति दिने भएका छन् ।