विराटचोकः सुन्दरहरैंचा १२ मा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आइएसओ प्रमाणपत्र पाएको छ । शनिबार एक समारोहबीच सो प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
सो चिह्न पाउनका लागि विद्यालयले अधिकांश मापदण्ड पूरा गरेको र केही मापदण्ड ३ वर्षभित्र पूरा गर्ने प्रतिबद्धता गरेसँगै सो प्रमाणपत्र पाएको विद्यालयले जनाएको छ ।
प्रमाणपत्र हस्तान्तरणका लागि आयोजित कार्यक्रममा सुन्दरहरैचाको शिक्षा शाखा प्रमुख लीलादेवी ओझा, विद्यालयका प्रबन्धक निर्देशक उत्सव थापा, प्रिन्सिपल शान्तिराम दाहाललगायतलाई एभरेष्ट इन्टरनेशनल कसल्टेन्सी काठमाडौँका प्रबन्धक निर्देशक शैलेन्द्रकुमार खरेलले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । सबै मापदण्ड पूरा भएपछि लोगो पनि हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
शैक्षिक संस्थाको शैक्षिक तथा व्यवस्थापकीय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारका लागि व्यक्त प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर यो प्रमाणपत्र प्रदान गरिन्छ । यो प्रमाणपत्रको संसारभरि मान्यता हुन्छ ।