काठमाडौंः त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरुको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ ।
आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रुपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो । विश्वविद्यालयको यही चैत १५ गतेको प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले सो निर्णय गरेको हो ।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार विश्वविद्यालयले हालसम्म नेपालीबाहेक अरु भाषाका प्रश्न अङ्ग्रेजी भाषामा मात्रै तयार गर्ने गरेपछि नेपाली भाषामा पनि प्रश्न सोधिनुपर्ने आवाज उठिरहेको थियो ।