इटहरीः १४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले सोमबार खेल तालिका सार्वजनिक गरेको छ ।
प्रतियोगिता चैत १० गतेदेखि १९ गतेसम्म रात्रिकालीन समयमा हुने भएको छ । सो गोल्ड कपमा एक भारतीय सहित ८ टिम सहभागी हुने भएका छन् । प्रतियोगिताका अन्य टिममा आयोजक राष्ट्रिय जागृति क्लब, कञ्चनजंगा फुटबल क्लब भारत, त्रिभुवन आर्मी, बिर्तामोड युनाइटेड झापा, चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम एनआरटी रहेका छन् ।
प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार इटहरी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउनेछन् । क्लबका उपाध्यक्ष केशव कार्कीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान द म्याच हुने खेलाडीले १० हजार पाउने बताइएको छ ।