विराटचोकः आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश व्यक्त गरेका छन् । यस्तो छ राष्ट्रपति पौडेलले दिएको सन्देशको पूर्ण पाठः
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को शुभकामना सन्देश
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।
वि.सं. २००७ सालको क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्न ।
संघीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।
आजको यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्वन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबै प्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८० फागुन ७ गते सोमबार ।