Saturday, November 21, 2026
Homeधर्म र संस्कृतिआजदेखि निशान यात्रासहित वराहक्षेत्रमा मेला लाग्ने

आजदेखि निशान यात्रासहित वराहक्षेत्रमा मेला लाग्ने

चतरा । धार्मिक परम्पराअनुसार निकालिने निशान यात्रासहित वराहक्षेत्र धाममा आजदेखि कात्तिके मेला सुरु हुने भएको छ ।

हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन सञ्चालन हुने मेलामा सप्तकोशी नदीमा स्नान गरी वराह भगवानको दर्शन तथा पूजाआराधना गर्न नेपालका विभिन्न जिल्ला, भारत र भुटानबाट भक्तजन आउने गर्छन् । मेलाको तयारी पूरा भएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

वि.सं. १८२१ मा स्थापना भएको चतरा गद्दीबाट बाजागाजा र ढोलझ्याम्टासहित चतरा बजार परिक्रमा गरेर वराहक्षेत्र मन्दिरसम्म निशान यात्रा निकालिनेछ । औलिया बाबाको गद्दी स्थापना भएदेखि चतरा गद्दीबाट निशान झण्डा वराहक्षेत्र लैजाने परम्परा रहेको श्रेष्ठले बताए । जनश्रुति र धार्मिक मान्यताअनुसार औलिया बाबालाई वराह भगवानका उपासक, सेवक र रक्षकका रूपमा मानिने भएकाले निशान झण्डा लैजाने गरिएको उनको भनाइ छ ।

सप्तकन्यासहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि चतरा गद्दीबाट सुरु गरिनेछ । यात्रामा जोगी–सन्यासी, चतरा गद्दीका साधुसन्त, जनप्रतिनिधि र स्थानीयवासी सहभागी हुनेछन् । निशान झण्डा पूर्णिमासम्म वराहक्षेत्रमा राखी धार्मिक विधिअनुसार पुनः चतरा मठमा फर्काउने परम्परा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments