काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्कालाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
महाधिवेशनस्थलबाटै पक्राउ परेकी खड्कालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको हो ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले दिएको आदेशमा भनिएको छ, ‘पक्राउ परेका अन्य प्रतिवादीहरूको बयानमा निजलाई पोल गरेको अवस्था पनि रहेको नदेखिएको तथा पीडितहरूको तर्फबाट पेस भएको जाहेरी दरखास्तको व्यहोरामा यी विनिता खड्काले जाहेरवालाहरूबाट रकम लिएखाएको तथा कसुरमा संलग्नता रहेको देखिने कुनै पनि तथ्य उल्लेख गरेको अवस्था पनि नदेखिएकोले निजलाई थुनामा नै राखी अनुसन्धान हुनुपर्ने अवस्था नदेखिँदा निज विनिता खड्कालाई थुनामा नराखी अनुसन्धान हुनुपर्ने देखिएकोले निजको हकमा थुनामा राखी अनुसन्धान गर्ने गरी म्याद थप गर्न मिलेन ।’





