Tuesday, October 13, 2026
Homeखेलकुदविराटनगरमा आजदेखि २६ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै

विराटनगरमा आजदेखि २६ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै

विराटनगरः आजदेखि विराटनगरमा २६ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ ।

मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ओमकुमार श्रेष्ठका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने गरी विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सातवटै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ८० गरी १७० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा एकल स्पाइरिङ, ग्रुप स्पाइरिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । एकल स्पाइरिङमा पुरुषतर्फ ४५ देखि ५० किलो तौल समूहदेखि ८६ किलोभन्दा माथि तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

महिलातर्फ ४० देखि ४५ किलोदेखि ७६ किलोभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ग्रुप स्पाइरिङमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।

प्याटनतर्फ हरियो, निलो, रातो, कालो प्रथम डान, दोस्रो डान र तेस्रो डानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ग्रुप प्याटन तथा सेल्फ डिफेन्समा पनि पुरुष र महिला खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपालको राष्ट्रिय टोलीमा छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ । छनोट भएका खेलाडीले आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा आयोजना हुने आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

प्रतियोगितामा महासंघका प्रतिनिधि तीन जना, अम्पायर ३५ जना, प्रशिक्षक तथा व्यवस्थापक ३० जना र स्थानीय अम्पायर पाँच जनासहित करिब २४३ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ । समापन असोज २६ गते कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गर्ने कार्यक्रम छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments