विराटचोकः घर फर्कन्छु भनेका छोरालाई बाढीले बगाएर भेट हुन नसकेपछि २१ वर्षमा पहिलो पटक ढाँटिस् र फेरि कहिल्यै ढाँट्नुनपर्ने गरी ढाँटिस् भनेर उनका बाबुले भावकु स्टाटस लेखेका छन् । घटना सल्यानको हो ।
सल्यानका २१ वर्षीय आयुष खड्का भदौ ११ गते रसुवाबाट घर फर्कने तयारीमा थिए । रसुवाबाट काठमाडौँ आएर काकासँग बसी १५ गते घर पुग्ने उनको योजना थियो । सोही कुरा उनले घरमा आमा–बुबालाई फोनमा बताएका थिए । तर, भदौ १० गते नै उनलाई भोटेकोशीको बाढीले बगायो । १५ गते घरमा पुग्ने भनेको दिन उनको शव चितवनमा फेला पारेर दाहसंस्कार गरेपछि बाबुले छोराले भनेको भनाइलाई सम्झँदै २१ वर्षमा पहिलो पटक छोराले ढाँटेको र अब कहिल्यै नढाँट्ने गरी ढाँटेको भनी भावुक स्टाटस लेखेका हुन् ।
आयुषका बुबा कृष्ण खड्काले फेसबुकमा लेखेका छन्ः
“छोरा तैँले २१ वर्षमा पहिलो पटक हामीलाई ढाँटिस् । अब कहिल्यै नढाँट्ने गरेर ढाँटिस । ११ गते हिँड्छु, काठमाडौँ आएर साइँला अंकलसँग बस्छु, १५ गते घर आइपुग्छु, भेट हुन्छ भनिस । १५ गते भेट हुन्छ भनेको बाचा पूरा गरिस, । तँलाई भेट्न हामी गयौँ । तँ कपडाले तेरो सधैँ हसिलो हुने मुहार छोपेर ढलिरहेको रहेछस् । हामीले तेरो मुहार खोलेर हेर्याैँ, तर तैले हामीलाई हेरिनस् । तँ आगोमा गएर ढलिस, उसैसँग बलिरहिस । हामीले तँलाई हेरेर आफ्नै पीडामा जलिरह्यौँ । तैले हजार राम्रा कुरा अनि हौसला दिएर कहिल्यै भुल्न नसक्ने सम्झना मात्र छोडेर गइस् । तँबाट प्रत्यक्ष हौसला पाउने हाम्रो आशा अब सपनामा मात्र सीमित छ । तर पनि सपनीमै आएर भए पनि दिन्छस् भन्ने आशामा हामी आफूलाई सम्हालेर जीवन सङ्घर्ष गर्नेछौँ ।’’





