इटहरीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०८० अन्तर्गत हिसान रनमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोसी सेन्ट जेम्स स्कुल प्रथम भएका छन् ।
इटहरीमा भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दूरी १४ मिनेट ३९ सेकेन्डमा पूरा गरे । एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । सुनाखरी एकेडेमीका उज्ज्वल राईले १५ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए ।
छात्रातर्फ कोसी सेन्ट जेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम भइन् । धरान मेघा कलेजकी सुभेक्षा राई दोस्रो र सीबी कलेज इटहरीकी तुलसा खड्का तेस्रो भए । राईले निर्धारित दूरी २० मिनेट ४० सेकेन्ड र खड्काले २४ मिनेट १५ सेकेन्डमा पूरा गरेकी थिइन् । प्रथम हुने धावक धाविकाले नगद १० हजार, द्वितीयले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार पाए ।
विजयी धावक धाविकाहरूलाई हिसानका केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, सुनसरी अध्यक्ष सागर भट्टराई, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेत लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा सुनसरीका विभिन्न उच्च माविका २ सय ५० धावकले भाग लिएको कार्यक्रम संयोजक सुवास लुइँटेलले बताए ।