काठमाडौंः सरकारले गत आर्थिक वर्षमा शेयर बजारको पूँजीगत लाभकर अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्ब १९ करोड रुपैयाँ कम राजस्व पाएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२\८३ मा शेयर कारोबारबाट सरकारले १० अर्ब ३५ करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा यही शीर्षकबाट १६ अर्ब ५४ करोड १७ लाख रुपैयाँ सङ्कलन भएको थियो ।
पूँजीगत लाभकर आम्दानी एक वर्षमै ३७.४२ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको शुरुमा नेप्से परिसूचक ३ हजार माथि पुगेको थियो । त्यसपछि घट्दै २ हजार ४८५ विन्दुसम्म झरेको थियो । असारमा मात्रै सरकारलाई ४६ करोड कम राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको असार महिनामा सरकारले शेयर कारोबारबाट ८० करोड ६८ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । अघिल्लो वर्षको असारमा करिब १ अर्ब २७ करोड रुपैयाँ पूँजीगत लाभकर सङ्कलन भएको थियो ।





