विराटचोकः मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य दुष्यान्त भट्टराईले सदस्य चयन भएको चौथो दिनमै पदबाट राजीनामा दिनुभएको छ ।
दलको सक्रिय कार्यकर्ता विद्यालय व्यवस्थापन समितिमा बस्न नपाउने कानुनी प्रावधानको कदर गर्दै पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । असार २५ गते राजपत्रमा प्रकाशित गरेको शिक्षा नियमावलीको दशौँ संशोधनले राजनीतिक दलको भूमिकामा रहेका व्यक्तिहरू विद्यालय व्यवस्थापन समितिमा बस्न नपाउने व्यवस्था गरेको छ ।
अध्यक्ष रेग्मी नैतिक सङ्कटमा
राजपत्रमा शिक्षा नियमावलीको दशौं संशोधन प्रकाशन भएको भोलिपल्ट विद्यालय व्यवस्थापन समिति चयन हुँदा नियमावलीविपरीत चयन भएको थाहा पाएपछि व्यवस्थापन समितिको पदबाट राजीनामा दिएको भट्टराईले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ । योसँगै व्यवस्थापन समिति अध्यक्ष चिरञ्जीवी रेग्मीमाथि नैतिक सङ्कट परेको हो । रेग्मी नेकपा एमाले मोरङको सहकारी तथा गरिबी निवारण विभागका सदस्य हुनुहुन्छ ।
असार २९ गते दिउँसो ३ बजे बुझाइएको राजीनामा पत्रमा भट्टराईले विद्यालय प्रशासन र प्रधानाध्यापकको भूमिकामाथि नै गम्भीर प्रश्न उठाउनुभएको छ । प्रधानाध्यापक कुनै अमुक राजनीतिक दलको पटकपटकको दबाब र प्रभावमा पर्नु बाध्यता हो कि रहर हो र किन एउटै दललाई समितिको अध्यक्ष बनाउन लागिन्छ भन्ने प्रश्न भट्टराईले राजीनामापत्रमा नै उल्लेख गर्नुभएको छ ।
साजीलाल माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चिरञ्जीवी रेग्मी





