विराटनगरः कोशी अस्पताल विराटनगरले अस्पतालको जग्गामा निर्मित अनाधिकृत २६ वटा सटर सोमबार बिहानैदेखि डोजर प्रयोग गरी भत्काएको छ ।
गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनपछि अस्पताल प्रशासनले सो कारबाही अघि बढाएको हो । अस्पतालको जग्गामा रहेका ती संरचनाहरू विभिन्न संस्थाहरूले भाडामा लगाएका थिए ।
विराटनगर–७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए । ती संस्थाहरुले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा पनि लगाएका थिए ।
व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका २६ वटा सटर डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइदिएको अस्पताल प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संरचना भत्काउन खटिएका थिए ।
एक साता अघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनाधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए ।
मन्त्रीहरूको निर्देशनलगत्तै अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गरेको थियो । त्यसअघि संरचना खाली गर्न असार ५ गते १५ दिने सूचना अस्पतालले निकालेको थियो ।





