विराटनगरः कोशी प्रदेशमा गठन हुन लागेको प्रदेश प्रज्ञा–प्रतिष्ठानको विषयमा भएका केही बुँदामा असहमति जनाउँदै कोशी प्रदेशका स्रष्टाहरूले शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । सो क्रममा परिषद्का अध्यक्ष केशु विरही र सचिव नवराज पोखरेल ‘नवशिला’ द्वारा हस्ताक्षरित विज्ञप्ति तथा ध्यानाकर्षण पत्रमा ऐनलाई संशोधन गरेर मात्र प्रदेश प्रज्ञा–प्रतिष्ठानको गठन गर्न ध्यानाकर्षण गराइएको छ ।
प्रज्ञा–प्रतिष्ठान गठनको पक्षमा रहे पनि राजनीतिक तथा प्रशासनिक व्यक्तिको नेतृत्वमा गठन हुने प्रतिष्ठानको आफूहरू विपक्षमा रहेको बताउँदै स्रष्टा र कलाकारको विमति रहँदारहँदै पनि जबरजस्ती गठन गरिएमा आफूहरूलाई त्यो अस्वीकार्य हुने बताइएको छ ।
स्रष्टाहरूबाट ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले ऐनलाई संशोधन गरेर मात्र प्रतिष्ठान गठन गरिने जानकारी दिनुहुँदै त्यसका लागि सहजीकरण गरिदिन स्रष्टाहरूसँ अनुरोध गर्नुभएको थियो ।
‘ऐनका बारेमा मलाई सबै कुरा थाहा थिएन, धेरै कुरा थाहा पाउँदै छु, अब तपाईँहरू ढुक्क हुनुहोस् संशोधन गरेर मात्र प्रतिष्ठानको गठन हुनेछ,’ मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्दै भन्नुभयो, ‘प्राज्ञिक संस्थामा राजनीतिक व्यक्तिभन्दा पनि भाषा, साहित्य, कला तथा संस्कृतिकै क्षेत्रका मानिस मनोनयन गरिनेछ । ऐन संशोधनका लागि तपाईँहरूले हामीलाई सहयोग गर्नुपर्नेछ ।’
२०७९ सालमा जारी भएको ‘प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन’ मा मुख्यमन्त्री कुलपति, सामाजिक विकास मन्त्री सहकुलपति र मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको थियो । सोही प्रावधानको विषयलाई लिएर स्रष्टा र कलाकारहरूले लामो समयदेखि विमति जनाउँदै आएका छन् ।
प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको विषयलाई कोसी साहित्य कला परिषद् नेपालले विगत केही दिनदेखि लगातार रूपमा भर्चुअल बहस गर्दै आएको छ । बहसमा कोशी प्रदेशका विभिन्न संस्थाका प्रमुख, अग्रज स्रष्टा र कलाकारहरूले सहभागिता जनाउँदै आएका छन् ।
ज्ञापनपत्र प्रदानपछि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. भीम खतिवडा, सुभद्रा भट्टराई आदि अग्रज स्रष्टाले ऐनमा देखिएका संशोधनीय पक्षका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
केशु विरही, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. भीम खतिवडा, डम्मरुवल्लभ अधिकारी, कुशेश्वर राई, देवीभक्त श्रेष्ठ, प्राज्ञ सुभद्रा भट्टराई, रमेन्द्र कोइराला, लीलानाथ सिलवाल, हिम्मत नेम्वाङ, रमेन्द्र कोइराला, रमेश निरौला, गायत्री लम्साल, द्वारिकाप्रसाद पोखरेल, मञ्जु घिमिरे दाहाल, पूजा बहार, अंशुकुमार गुप्तालगायतका दुई दर्जनभन्दा बढी स्रष्टा तथा कलाकारहरूको उपस्थितिमा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
यसअघि पनि पटक पटक विभिन्न संस्था तथा व्यक्तिहरूका तर्फबाट पनि उक्त ऐनलाई संशोधन गर्न लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराइएको थियो । तर सोही ऐनमा टेकेर प्रदेश प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने तयारी गरिरहेको जानकारी पाएपछि स्रष्टा र कलाकारहरू आन्दोलित भएका थिए ।
मुख्यमन्त्री कार्कीलाई सोही दिन साहित्य चौतारी, झापाका तर्फबाट मुख्यमन्त्रीलाई साहित्यको विकास तथा प्रवर्द्धनका लागि संस्थाका प्रमुख संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले पनि ज्ञापनपत्र बुझाउनुभएको थियो ।





