विराटचोकः अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमीफाइनलमा प्रवेश गरेको छ । स्पेनले सेमीफाइनलमा फ्रान्सको सामना गर्ने भएको छ ।
निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गरेको गोल निर्णायक बनेको थियो । खेलको ८८ औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । जसको फाइदा उठाउँदै मिकेल मेरिनोले निर्णायक गोल गरेका थिए ।
खेलको ३० औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि बेल्जियमका चाल्र्स डे केटलेरले हेडर गोल गरी खेललाई बराबरीमा फर्काएका थिए ।
सन् २०१० को विश्वकप विजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१८ र २०२२ मा अन्तिम १६ सम्म पुगेको थियो । १७ औं पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमीफाइनल यात्रा हो । यसअघि सन् १९५० र २०१० मा सेमीफाइनलमा पुगेको थियो । सन् २०१० मा विजेता बनेको थियो भने सन् १९५० मा चौथो भएको थियो ।
बेल्जियमको यात्रा क्वार्टरफाइनलमै रोकिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियम सन् २०१८ को विश्कपमा तेस्रो बनेको थियो । सन् २०२२ को विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो ।





