विराटचोकः आज सरकारले मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएपछि शेयरबजारका लगानीकर्ता उत्साहित हुँदा सूचक र कारोबार रकम दुवै बढेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५२ कम्पनीको ९५ लाख १९ हजार ४५२ कित्ता शेयर ७२ हजार २२ पटक किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात् १.८९ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ समूह १.५२ प्रतिशत, विकास बैंक १.१३ प्रतिशत बढेको छ ।
बढेको बजारमा उच्च कारोबार गर्नेमा तीन वटा ऋणपत्र रहेका छन् । १० प्रतिशत केबीएल डिबेञ्चर २०९० को सर्वाधिक २० करोड ७५ लाख ८७ हजार १२५ रुपैयाँको शेयर किनबेच भएको छ । कृषि विकास बैंक डिबेञ्चर २०८३ को १७ करोड ९२ लाख, ग्लोबल आइएमई बैंकको १६ करोड ८६ लाख र गरिमा डिबेञ्चर २०८५ को १६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
बढेको बजारमा कालंगा हाईड्रोको सेयरमूल्य १५ प्रतिशत बढ्दा सानिगाड हाईड्रोको शेयरमूल्य १०.५७ प्रतिशत, उपकार लघुवित्तको ९.६६, मन्दाकिनी हाईड्रोपावरको ५.५५ र मोलुङ हाईड्रोपावरको शेयरमूल्य ३.९९ प्रतिशतले बढेको छ ।
आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् १३.७८ प्रतिशतले घट्दा स्नो रिभर्सको शेयरमूल्य ५.१३ प्रतिशत र टक्सार पिखुवा खोला हाईड्रोको शेयरमूल्य ४.४१ प्रतिशतले घटेको छ ।




