विराटचोकः पाँच पटक विश्वकप फुटबल जितिसकेको ब्राजिललाई पराजित गर्र्दै एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वे क्वार्टरफाइनलमा पुगेको छ ।
नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गरेको हो । खेलको ८० औं मिनेटमा आन्द्रेयास स्केल्डेरुपको सटीक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै नर्वेका हालाण्डले आफ्नो टिमलाई १–० को अग्रता दिलाए ।
खेलको ९० औँ मिनेटमा हालान्डले थप गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए । योसँगै हालान्डले यस विश्वकपमा आफ्नो गोल संख्या सात पुर्याएर सर्वाधिक गोलकर्तामध्ये एक बनेका छन् । अर्जेन्टिनाका लिओनल मेसी र फ्रान्सका केलियन एमबाप्पेले पनि जारी विश्वकपमा समान ७ गोल गरेका छन् ।
मध्यान्तरपछिको अतिरिक्त समयमा ब्राजिलका नेमायरले आफ्नो टिमका लागि १ गोल गरे पनि जीत दर्ता गर्न नसक्दा ब्राजिलको विश्वकप यात्रा रोकिएको हो । पाँच पटकको विश्वविजेता टोली यस पटक उपाधिको मुख्य दाबेदारका रूपमा प्रतियोगितामा प्रवेश गरेको थियो ।
लगातार आठ संस्करणसम्म कायम रहेको ब्राजिलको क्वार्टरफाइनल पुग्ने श्रृंखला यसपटक टुटेको छ । सन् १९९० पछि पहिलो पटक ब्राजिल क्वार्टरफाइनलअघि नै विश्वकपबाट बाहिरिएको हो ।




