विराटचोकः फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल (राउन्ड अफ १६) को समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भएसँगै विश्वकप उपाधि दौडमा अब १६ टोली मात्र बाँकी रहेका छन् ।
राउन्ड अफ ३२ मा केही ठूला टोली अप्रत्याशित रूपमा बाहिरिएका छन् । चार पटकको विश्वविजेता जर्मनी, गत विश्वकपमा तेस्रो बनेको क्रोएसिया, दाबेदार नेदरल्यान्ड्स, एशियाली शक्ति जापान तथा अफ्रिकाको बलियो टोली सेनेगल अन्तिम १६ मा पुग्न असफल भए ।
साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, गत संस्करणमा चौथो बनेको मोरक्को, युरोपेली महारथी स्पेन, इंग्ल्यान्ड, बेल्जियम, ब्राजिल, पोर्चुगल, अमेरिका लगायतका टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।
राउन्ड अफ ३२ मा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै प्रि–क्वाटरफाइनलमा स्थान बनायो । ब्राजिलले जापानलाई पराजित गर्दा जर्मनी भने पाराग्वेसँग टाइब्रेकरमा स्तब्ध बन्यो ।
मोरक्कोले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हरायो भने नर्वेले आइभरी कोस्ट, फ्रान्सले स्वीडेन, मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो र बेल्जियमले सेनेगललाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे ।
अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई, स्पेनले अस्ट्रियालाई, पोर्चुगलले क्रोएसियालाई तथा स्वीट्जरल्यान्डले अल्जेरियालाई हराए । इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्दा अर्जेन्टिनाले केप भर्डे र कोलम्बियाले घानालाई हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
राउन्ड अफ १६ को खेल तालिका (नेपाली समयअनुसार )
शनिबार राति १०ः४५ बजे – क्यानडा र मोरक्को
आइतबार बिहान २ः४५ बजे – पाराग्वे र फ्रान्स
सोमबार बिहान १ः४५ बजे – ब्राजिल र नर्वे
सोमबार बिहान – मेक्सिको र इंग्ल्यान्ड
मंगलबार बिहान १२ः४५ बजे – पोर्चुगल र स्पेन
मंगलबार बिहान – अमेरिका र बेल्जियम
मंगलबार राति ९ः४५ बजे – अर्जेन्टिना र इजिप्ट
बुधबार बिहान १ः४५ बजे – स्वीट्जरल्यान्ड र कोलम्बिया
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा अब उपाधि दौड थप रोमाञ्चक बनेको छ । अन्तिम १६ बाट विजयी हुने टोलीहरूले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।




