विराटचोकः असार १५ गते धान दिवसको दिन मोरङको सुन्दरहरैंचा नगरपालिकामा ‘रन सुन्दरहरैंचा’ कार्यक्रम आयोजना हुने भएको छ ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ ‘रन सुन्दरहरैंचा–२०८३’ आयोजना हुने भएको हो ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार असार १५ गते बिहान साढे ६ बजे विराटचोकदेखि हरैंचासम्म ‘रन सुन्दरहरैंचा’ सञ्चालन हुने भएको हो । करीब १० हजार मानिसको सहभागितामा हुने दौड सुन्दरहरैंचाको दक्षिणी बजार हरैंचासम्म सञ्चालन हुने भएको हो ।
सहभागीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी डाक्टर र नर्ससहितको एम्बुलेन्सको व्यवस्था पनि गरिने भएको छ ।
कार्यक्रम संयोजक तथा उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालका अनुसार सो कार्यक्रममा दौडेर, हिँडेर वा सवारी साधनमा बसेर पनि सहभागिता जनाउन सकिनेछ । सहभागीहरुलाई हरैंचा बजारमा पाथीभरा स्वतन्त्र महिला समूहले दही चिउरा खुवाउने भएको छ ।
हरैंचाबाट फर्कने क्रममा २ बिघा क्षेत्रफलको खेतमा रोपाइँ गरेर धान दिवस पनि मनाउने कार्यतालिका राखिएको आयोजकले जनाएको छ ।
विभिन्न संघसंस्थाले पानीको व्यवस्था गर्ने भएका छन् ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले कार्यक्रमले सुन्दरहरैंचाको विकास यात्रा, आर्थिक सम्भावना, लगानी, पर्यटन, उद्यमशीलता तथा समृद्धिका विषयमा साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रमबाट नगरको दीर्घकालीन समृद्धिका लागि साझा अवधारणा र विकासको स्पष्ट मार्गचित्र तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा असार १४ गते इन्द्रपुर जेसीजको सभाहलमा अन्तरक्रिया तथा बहस कार्यक्रम आयोजना गरिने भएको छ ।
सो बहस कार्यक्रममा पत्रकार टीकाराम यात्री र दिलभूषण पाठक, पूर्व अर्थसचिव रामेश्वर खनाल, नायिका रेखा थापा, उद्योगी सुयश प्याकुरेल र अरुण सुवेदी आमन्त्रित वक्ताका रुपमा रहनेछन् । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरको प्रतिवेदन प्रस्तुत गर्नुहुने भएको छ ।
बहस कार्यक्रममा सुन्दरहरैंचाको विकास यात्रा, आर्थिक सम्भावना, लगानी, पर्यटन, उद्यमशीलता, रोजगारी सिर्जना तथा भविष्यका विकास प्राथमिकता लगायतका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ ।
सुन्दरहरैंचा रनमा सहभागिताका लागि १०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ । सहभागीलाई एउटा टिसर्ट उपलब्ध गराइने भएको छ ।




