विराटचोकः समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाले जारी विश्वकपमा पहिलो जीत निकालेको छ ।
एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई पराजित गरेसँगै ३ अंक जोडेको छ ।
आज बिहान क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियाका बुडिमरले खेलको ५३ औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गरेका थिए । त्यसपछि दुवैले टोलीले गोल गर्न सकेनन् ।
समूह चरणको पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्ड्सँग ४–२ ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेल क्रोएसियाले अब घानासँग खेल्नेछ । घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ ।
पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा घानासँग पानामा १–० ले पराजित भएको थियो । पानामाले अब अब अन्तिम खेलमा इंग्ल्यान्डसँग खेल्नेछ ।
आजको खेलसँगै क्रोएसियाका भेट्रान कप्तान लुका मोडरिचले अन्तर्राष्ट्रिय फुटबलमा २०० औं खेल पूरा गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा उनी यो तह पार गर्ने चौथो खेलाडी हुन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २३०, कुवेतका बाडेर अल–मुटुवाले २०२ र अर्जेन्टिनाका लियोनल मेसीले २०१ खेल खेलेका छन् ।




