विराटचोकः गत साता नेप्से परिसूचकमा गिरावट आएको छ । गत साता नेप्से २७५५.४१ विन्दुमा अडिएको छ । अघिल्लो साता भने नेप्से सूचक २७८२.१० विन्दुमा बन्द भएको थियो । एक सातामा नेप्से परिसूचक २६.६९ अङ्क अर्थात् ०.९६ प्रतिशतले ओरालो लागेको हो ।
सातामा दुई दिन सूचक बढे पनि ३ दिन घटेको थियो । साताभरमा २ लाख ९४ हजार ४६२ वटा कारोबारमार्फत् ६ करोड १६ लाख भन्दा बढी कित्ता किनबेच भएका थिए ।
सातामा ८ वटा समूह घटेका थिए भने ५ वटा समूहका सूचक उकालो लागेका थिए । फाइनान्स समूह, जीवन बीमा समूह, म्युचुअल फण्ड समूह, निर्जीवन बीमा समूह र अन्य समूह बढ्दा फाइनान्स समूह सर्वाधिक ६.९१ प्रतिशतले बढेको थियो । निर्जीवन बीमा समूह ४.६५ प्रतिशतले बढेको थियो ।
गत साता व्यापार समूह भने सर्वाधिक ६.९८ प्रतिशतले घट्यो ।
साताभरमा कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य १०१ प्रशितले बढ्यो । कालिञ्चोककको आईपीओ भर्खरै दोस्रो बजारमा सूचीकृत भएकाले बढी भाउ बढेको हो ।
सेन्ट्रल फाइनान्स, नेपाल रि इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर, रिलायन्स फाइनान्स, एनएलजी इन्स्योरेन्स, बेष्ट फाइनान्स, उपकार लघुवित्त, नेपाल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयर उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
गत साता बुंगल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् १६.७५ प्रतिशतले घट्यो । रिज लाइन इनर्जी, होटल फरेस्ट इन, झापा इनर्जी, नेपाल रि पब्लिक मिडिया, विशाल बजार कम्पनी, भुजुङ्ग हाइड्रो, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, क्रेष्ट माइक्रो लाइफ र थ्रीस्टार हाइड्रोपावर उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।
गत साता आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक २ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । पछिल्लो समय निरन्तर आँखुखोलाको शेयरको उच्च कारोबार हुने गरेको छ ।
नेपाल रि इन्स्योरेन्स, रिडी पावर, सेन्ट्रल फाइनान्स, हिमालयन रि इन्स्योरेन्स, अपि पावर, नेशनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एभरेष्ट बैंक डिबेञ्चर, विकास हाइड्रोपावर साताभरमा उच्च रकमको कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।




