विराटचोकः चौथो सुन्दरहरैंचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा इटहरी उपमहानगरपालिका बेलका नगरपालिकालाई टाइब्रेकरमा ४ का विरुद्ध ५ गोल गरी फाइनलमा पुगेको छ ।
सुन्दरहरैंचा नगरपालिका–१२ स्थित शुक्रबारे खेल मैदानमा भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी गरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।
सबै ४ गोल खेलको मध्यान्तरपछि भएका थिए । मध्यान्तरपछिकोे पाँचौं मिनेटमा श्याम मुर्मुले उत्कृष्ट फिनिसिङ गर्दै बेलकालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि दिशान्त रानाले विवेक राईको कर्नरमा हेडमार्फत गोल गर्दै बेलकाको अग्रता २–० बनाएका थिए ।
इटहरीका असिम राईले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक लङ रेन्ज सटले जाली चुमेको केही मिनेटपछि निस्कुमार श्रेष्ठले अर्काे गोल गरी खेललाई बराबरीको स्थितिमा पुर्याएका थिए । त्यसपछि कुनै पनि समूहले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।
खेलको प्लेयर अफ द म्याच इटहरीका असिम राई घोषित भई नगद ४ हजार रुपैयाँ हात पारे ।
खेलको फाइनल खेल आज दिउँसो ३ बजे हुने भएको छ । प्रतियोगिताको विजेताले नगद रु. ४ लाख र उपविजेताले रु. २ लाख प्राप्त गर्नेछन् ।




