धनकुटाः नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त भएकी छिन् ।
गत बैशाख २१ गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गर्नुभएको हो ।
कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाल (धनकुटा) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नुभएको छ ।’
संस्थापक अध्यक्ष विपिन कोइरालादेखि हालसम्म नेविसंघको नेतृत्व शेरबहादुर देउवा, विमलेन्द्र निधि, एनपी साउद, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, दुजाङ शेर्पालगायतले गर्नुभएको छ ।
कटुवाल नेविसंघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्नुभएको छ ।




