फिदिमः लगातारको अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा घर, गोठ, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको छ ।
पालिकाको वडा नं १ मा दुईवटा घर तथा वडा नं १ र २ मा गरी तीनवटा झोलुङ्गे पुल बगाएको छ । याङवरक– १ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको बताइएको छ ।
निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । याङवरक– ३ स्थित रिजाल भीरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेवा, काबेली र तमोर नदीमा आएका बाढीका कारण तटीय क्षेत्र जोखिममा पर्नुका साथै याङवरक– ३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताइएको छ ।
अहिले वर्षा रोकिएकाले क्षतिको विवरण लिने काम भइरहेको प्रशासनले जनाएको छ ।




