विराटनगरः मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म विराटनगरमा छैटौँ मिल्स गोल्डकप सञ्चालन हुने भएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन खेल झापाको कन्काई स्पोर्टिङ क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच हुने भएको छ ।
ट्रष्टका अध्यक्ष विष्णु डंगोलका अनुसार २०७७ सालदेखि निरन्तर कोशी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदै आएको सो प्रतियोगितामा कोशी प्रदेशका ‘क’ डिभिजनका ८ वटा फुटबल क्लबहरूको सहभागिता रहने भएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगततर्फ विभिन्न चार विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ प्रदान गरिने तथा प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ले ५ सय रुपैयाँ नगद पुरस्कार पाउने खेल संयोजक अमृत गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको अनुमानित लागत १० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।




