उदयपुरः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षकलाई नै केन्द्रमा राख्ने नीतिअनुसार उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका ४५ वटा सामुदायिक विद्यालयमा कार्यरत ४ सय ५९ जना शिक्षक तथा कर्मचारीलाई झोला, डायरी र डटपेन वितरण गरेको छ ।
नगरले स्थायी, अस्थायी, करार, राहत, संघीय अनुदान तथा स्वयंसेवक शिक्षकसँगै विद्यालयका लेखा कर्मचारी लाई ती सामग्री वितरण गरेको हो । शिक्षाको गुणस्तर सुधार केवल नीतिगत निर्णयले मात्र सम्भव नहुने भन्दै कक्षाकोठामा प्रत्यक्ष खटिने शिक्षकको मनोबल बढाउन यो कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
नगर शिक्षा शाखाका अनुसार पछिल्ला वर्षमा सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घट्दै गएको सन्दर्भमा शिक्षकलाई थप जिम्मेवार र उत्प्रेरित बनाउन यस्तो अभियान अघि सारिएको हो ।
नगर प्रमुख कालुमान लामाका अनुसार सामुदायिक विद्यालयका नतिजामा सुधार देखिन थालेको र त्यसलाई निरन्तरता दिन शिक्षकलाई प्रोत्साहन आवश्यक रहेकाले नयाँ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी शिक्षकहरूले स्थानीय सरकारले पहिलोपटक प्रत्यक्ष रूपमा शिक्षकलाई लक्षित गरेर कार्यक्रम ल्याएको भन्दै खुशी व्यक्त गरेका थिए ।




