धरानः डेंगु सङ्क्रमणको जोखिममा रहेका पालिकाहरूमा धरान पनि परेकोले धरान उपमहानगरपालिकाले रोकथामको तयारी गर्न थालेको छ ।
डेंगु महामारी रोकथाम गर्न ‘कम्युनिटी सर्भिलेन्स’ अभियान शुरु गर्ने तयारी गरिएको कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले बताउनुभएको छ । युनिसेफ र पीएलआरको साझेदारीमा नगरपालिकाले दुई दिने अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको छ ।
अभिमुखीकरणको समापनमा बेघाले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समुदायमै पुगेर सक्रिय रूपमा निगरानी गर्न निर्देशन दिनुभएको छ । ‘समुदायमा आधारित रोग निगरानी प्रणाली’ नामक अभिमुखीकरण कार्यक्रममा बेघाले भन्नुभयो, ‘रोग फैलिनुअघि नै समुदायमा पुगेर जोखिम पहिचान गर्नुपर्छ ।’
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मुलुकका १३ स्थानीय तहमा डेंगु सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा पुस यता करिब ६ सय जनामा सङ्क्रमण देखिएको बताइएको छ ।
अभिमुखीकरणमा सहजकर्ता अनिष शर्मा उप्रेतीले हाल नेपालका ठूला अस्पतालहरूमा लागू रहेको ‘प्रारम्भिक चेतावनी तथा प्रतिवेदन प्रणाली (ईवार्स)’ बारे जानकारी दिनुभएको थियो ।
सङ्क्रमणको जोखिममा ओखलढुङ्गाको सिद्धिचरण, झापाका भद्रपुर, बिर्तामोड, मेची, कचनकवल, सुनसरीको धरान, म्याग्दीको बेनी, चितवनको भरतपुर, रुपन्देहीको बुटवल, मकवानपुरको हेटौँडा, सिन्धुलीको कमलामाई र ललितपुर महानगरपालिका रहेका छन् ।




