Tuesday, April 28, 2026
Homeसमाचारनिर्माण व्यवसाय सङ्कटमा परेको भन्दै कोशीका निर्माण व्यवसायी समस्या समाधानका लागि प्रदेश...

निर्माण व्यवसाय सङ्कटमा परेको भन्दै कोशीका निर्माण व्यवसायी समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष अनुरोध गर्दै

विराटनगरः कोशी प्रदेशमा निर्माण उद्योग गम्भीर सङ्कटतर्फ उन्मुख भएको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारसँग अनुरोध गरेका छन् । तत्काल हस्तक्षेप गरेर समस्याको समाधान निकाल्नुपर्ने उनीहरुको सुझाव छ ।

इन्धनजन्य सामग्रीको लगातार मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव र लागत असन्तुलनका कारण पूर्वाधार निर्माण क्षेत्र नै ठप्प हुने अवस्थामा पुगेको निष्कर्षसहित निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले सोमबार औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ । महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीको नेतृत्वमा गएको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपप्रदीपकुमार सुनुवारलाई भेटेर निर्माण क्षेत्रको वर्तमान अवस्था गम्भीर बनेको जानकारीसहितको ज्ञापनपत्र बुझाएको हो ।

महासंघ प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकी, द्वितीय उपाध्यक्ष सन्तोष ढुंगाना, महासचिव रमेश कार्की, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश मिश्र लगायतका पदाधिकारी सहभागी टोलीले समस्या समाधानका लागि तत्काल नीतिगत निर्णय आवश्यक रहेकोमा जोड दिएको छ ।

सो टोलीले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीसँग अलगअलग भेट गरेर ज्ञापनपत्र बुझाएको हो । व्यवसायीहरूले मध्यपूर्वमा जारी द्वन्द्वको प्रभाव नेपालसम्म आइपुगेको बताएका छन् । डिजेल, पेट्रोल र मट्टितेलजस्ता इन्धनको मूल्यमा भएको निरन्तर वृद्धि निर्माण क्षेत्रमा सिधा असर पारिरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

इन्धनसँगै बिटुमिन, सिमेन्ट र डण्डीजस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्यसमेत अस्वाभाविक रूपमा बढेको र बजारमा अभाव समेत देखिएको हुनाले मूल्यवृद्धि र अभावले निर्माण उद्योगलाई गहिरो संकटमा धकेलेको महासंघको ठहर छ । हालको अवस्थाले प्रदेशभर सञ्चालनमा रहेका साना र ठूलासहित राष्ट्रिय गौरवका आयोजनाहरू समेत प्रभावित भएको अध्यक्ष भण्डारीले बताए ।

काम गर्ने मुख्य समयमा नै लागत अनियन्त्रित रूपमा बढ्नु र सामग्री उपलब्ध नहुनुले धेरै परियोजनाहरू ठप्पजस्तै बनेको उनको भनाइ छ । निर्माण क्षेत्रमा देखिएको संकटले पूर्वाधार विकाससँगै रोजगारी र सहायक उद्योगहरूमा समेत नकारात्मक असर पारिरहेको व्यवसायीहरू बताउँछन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्रमा देखिएको संकटप्रति प्रदेश सरकार गम्भीर रहेको प्रतिक्रिया दिएका छन् । उनले व्यवसायीहरूले उठाएका विषयहरूलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री सुनुवारले पनि निर्माण व्यवसायीको माग जायज रहेको हुनाले निर्माण क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधानका लागि आफूले पनि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments